(१) परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) नर्सिङ्ग व्यवसायलाई सुचारु रुपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने,
(ख) शिक्षण संस्थालाई मान्यता दिने,
(ग) खण्ड (ख) बमोजिम मान्यता दिएका शिक्षण संस्थाको पाठ्यक्रम, भर्नाका शर्त, परीक्षा प्रणाली तथा अन्य आवश्यक शर्त तथा पूर्वाधारको मूल्याङ्कन तथा पुनरावलोकन गर्ने,
(घ) खण्ड (ग) बमोजिम मूल्याङ्कन तथा पुनरावलोकन गर्दा परिषद्ले निर्धारण गरेको मापदण्ड पूरा गरेको नपाइएमा त्यस्ता शिक्षण संस्था सञ्चालन गर्ने स्वीकृतिखारेजीको लागि सिफारिश गर्ने,
(ङ) नर्सिङ्ग व्यवसायीको योग्यता निर्धारण गरी योग्यता पुगेका नर्सिङ्ग व्यवसायीको दर्ता किताबमा नाम दर्ता गरी दर्ता प्रमाणपत्र दिने,
(च) नर्सिङ्ग व्यवसायीको कार्यसीमा निर्धारण गर्ने,
(छ) नर्सिङ्ग व्यवसायीको व्यावसायिक आचारसंहिता निर्धारण गर्ने र त्यस्तो आचारसंहिता उल्लंघन गर्ने नर्सिङ्ग व्यवसायीउपर कारबाही गर्ने ।
(२) कुनै शिक्षण संस्था स्थापना र सञ्चालन गर्न स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले परिषद्संग परामर्श माग गर्नेछ । त्यस्तो शिक्षण संस्थाले आवश्यक मापदण्ड तथा पूर्वाधार पूरा गरे वा नगरेको जाँचबुझ गरी परिषद्ले सो सम्बन्धमा आवश्यक परामर्श दिनेछ । परिषद्को त्यस्तो परामर्शको आधारमा सम्बन्धित निकायले शिक्षण संस्था स्थापना र सञ्चालन गर्ने स्वीकृति दिने वा नदिने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । शिक्षण संस्था स्थापना र सञ्चालनको स्वीकृति दिइएको अवस्थामा सो कुराको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।